बैतडी : बैतडी सहित सुदूरपश्चिममा बिधिवध रूपमा आजबाट गाैरा पर्व शुरु भएकाे हाे ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ ।
त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
यो बर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ ।भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको हाे ।
शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन रही आएको छ । कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ ।
पञ्चमीका दिन बिरुडा भिजाउने, षष्ठीका दिन बिरुडा धुने, सप्तमीका दिन गौरा भित्र्याउने र अष्टमीका दिन गौरा खलामा लगेर अठ्यावाली मनाउने प्रचलन रही आएको छ ।
याे वर्ष १२ गते बिरुडा भिजाउने १३ गते धुने ,१४ गते गौरा भित्र्याउने र भदाै १५ गतेका दिन गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली परेको पण्डित खेमराज भट्टले बताए ।
गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने गर्दछन। ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको हाे ।
गौरापर्व सुदूरपश्चिमको मौलिक चाड हाे । याे पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाउँ छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
गाैरा पर्वकाे समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएकाे छ ।
Something wrong with this story? Report it to the editors.
Log in to save this story to your account.








