बैतडी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बैतडीको दोडगाकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भोजबहादुर महरा (भूपेश) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी एजेन्डा तथा विकासको रोडम्याप सार्वजनिक गरेका छन्।
महराले पारदर्शी स्थानीय विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य, समृद्ध कृषि, स्वच्छ प्रशासन र जनताको सहभागितामा आधारित स्थानीय सरकार निर्माण गर्ने लक्ष्यसहित आफ्नो चुनावी अभियान अघि बढाएका छन्।
‘समृद्ध दोडगाकेदार, सहज जनसेवा र अवसरयुक्त समाज’ भन्ने संकल्पसहित महराले गाउँपालिकाको समग्र विकासका लागि जनताको साथ र सहयोगको अपेक्षा गरेका छन्।
उनले वडा नं. १ देखि ८ सम्मका आवश्यकता समेटेर वडागत विकास योजना अघि सारेका छन्। जसमा सडक स्तरोन्नति तथा विस्तार, ग्रामीण बस्तीमा यातायात पहुँच, स्वास्थ्य सेवा विस्तार, विद्यालयको गुणस्तर सुधार, खानेपानी तथा सिँचाइ योजना र कृषि उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम समेटिएका छन्।
महराले सार्वजनिक गरेको एजेन्डामा भ्रष्टाचार नियन्त्रण, पारदर्शी स्थानीय विकास, सुशासन, युवालाई रोजगारी तथा उद्यमशीलतामा जोड्ने योजना पनि समावेश छन्। त्यस्तै कृषि तथा पशुपालनको आधुनिकीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय कला संस्कृतिको संरक्षणलाई समेत प्राथमिकतामा राखिएको छ।
उनले आगामी निर्वाचनका लागि १२ बुँदे सार्वजनिक विकास एजेन्डा प्रस्तुत गर्दै जनताको आवश्यकता पहिचान गरी योजनाबद्ध र परिणाममुखी विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय रहँदै आएका महरा निवर्तमान प्रदेश सचिवालय सदस्य हुन्। पार्टी स्थापनाको सुरुवाती चरणमा धेरै ठाउँमा संगठनको उपस्थिति नरहेको अवस्थामा प्रदेशदेखि जिल्ला तहसम्म एक–एक जना गर्दै संगठन निर्माण तथा विस्तारमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।














