बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ पपितामा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। निर्धारित समयसीमा नाघिसक्दा पनि अस्पताल निर्माण अधुरै रहँदा स्थानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ।
संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको उक्त अस्पतालको ठेक्का २०७८ सालमा करिब १४ करोड रुपैयाँमा सीएम–एसके शिवलिङ जेभीले पाएको थियो। सम्झौताअनुसार २४ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयमा काम पूरा हुन सकेन। पछि म्याद थप गरी २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
तर उक्त समयसीमा बितिसक्दा पनि अस्पतालको निर्माण कार्य अधुरै रहेको छ। अस्पताल निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले गाउँमै सहज स्वास्थ्य सेवा पाउने अपेक्षा पूरा हुन सकेको छैन।
निर्माण कार्यमा ढिलाइ हुनुको कारणबारे निर्माण कम्पनीका सञ्चालक (ठेकेदार)ले भने गाउँपालिकाबाट पाउनुपर्ने भुक्तानी समयमै प्राप्त नहुँदा काम प्रभावित भएको बताएका छन्। पालिकाबाट भुक्तानी समयमा नपाउँदा निर्माण कार्यलाई अपेक्षित गतिमा अघि बढाउन नसकिएको उनको भनाइ छ।
एकातिर ठेकेदारले भुक्तानी नपाएको कारण देखाएका छन् भने अर्कोतिर अस्पताल निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिकले स्वास्थ्य सेवाका लागि सास्ती खेप्नुपरेको छ।
करोडौँ रुपैयाँको लगानीमा निर्माण थालिएको अस्पताल समयमै सम्पन्न नहुनुको कारण, भुक्तानीको अवस्था र निर्माण सम्पन्न हुने नयाँ समयसीमाबारे गाउँपालिकाले स्पष्ट पार्नुपर्ने देखिन्छ।
स्थानीयवासीले अस्पताल निर्माणको बाँकी काम तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।














