बैतडी। नयाँ मोटरसाइकल खरिद गरेको खुसी सामाजिक सञ्जालमा साटेको २४ घण्टा नबित्दै सडक दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका जवान लोकेश भण्डारीको परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडा निवासी प्रहरी जवान भण्डारीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा भएको सवारी दुर्घटनामा असामयिक निधन भएको थियो।
नयाँ मोटरसाइकल खरिद गरेपछि उनले फेसबुकमा ‘निङ्लाशैनी, डाँडा बाघ, विश्वकर्मा बाबा रक्षा गर्नु’ भन्दै खुसी साटेका थिए। तर, विडम्बना! नयाँ बाइक किनेको भोलिपल्टै दुर्घटनामा ज्यान गुमाउनुपरेपछि उनको परिवार, आफन्त र शुभचिन्तक शोकमा डुबेका छन्। हिजोसम्म भविष्यका सपना बुन्दै गरेका भण्डारी आज परिवारका लागि कहिल्यै नमेटिने सम्झना बनेका छन्।
भण्डारीको अल्पायुमै भएको निधनले उनकी पत्नी र तीन महिनाकी दुधे छोरीलाई असहाय अवस्थामा छोडेको छ। बाबुको माया र काखको न्यानोपनसमेत राम्ररी अनुभव गर्न नपाएकी अबोध छोरीको भविष्य अन्योलमा परेको छ। परिवारको भरोसा र सहारा गुमेपछि शोकसँगै आर्थिक संकटसमेत थपिएको छ।
यस्तो दुःखद परिस्थितिमा भण्डारीको परिवारलाई आर्थिक सहयोग जुटाउन देश तथा विदेशमा रहेका सम्पूर्ण सुरक्षाकर्मी, आफन्त, साथीभाइ तथा शुभचिन्तकहरूसँग आ–आफ्नो क्षमताअनुसार सहयोग गरिदिन अपिल गरिएको छ।
सहयोग रकम पारदर्शी रूपमा संकलन तथा अभिलेख राख्न मृतकका परिवारका सदस्य एवं नेपाल सरकारका शाखा अधिकृत धिरेन्द्रसिंह भण्डारीको ईसेवा नम्बर ९८५१३६१३६६ सार्वजनिक गरिएको छ। उक्त नम्बरमा Dhirendra Singh Bhandari को नाममा सहयोग रकम पठाउन सकिने जनाइएको छ।
सहयोग रकम पठाइसकेपछि पारदर्शिताका लागि सहयोगदाताहरूलाई आफ्नो पूरा नाम र रकम पठाएको भौचर वा स्क्रिनसट सम्बन्धित समाचार तथा पोस्टको कमेन्ट बक्समा राख्न वा ह्वाट्सएपमार्फत पठाउन अनुरोध गरिएको छ। परिवारका तर्फबाट पछि आधिकारिक बैंक खाता सञ्चालनमा आएपछि त्यसको विवरणसमेत सार्वजनिक गरिने बताइएको छ।
मृतक भण्डारीको परिवारलाई सहयोग गर्न चाहने महानुभावहरूले थप जानकारीका लागि धिरेन्द्रसिंह भण्डारीको मोबाइल नम्बर ९८५१३६१३६६ र लोकेन्द्र भण्डारीको मोबाइल नम्बर ९८५१०३३५०६ मा सम्पर्क गर्न सक्नेछन्। उक्त दुवै नम्बर ह्वाट्सएपमा समेत उपलब्ध रहेको जनाइएको छ।
एउटा परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ, एउटी पत्नीले जीवनसाथी र तीनमहिने छोरीले बाबुको साथ गुमाएकी छन्। यस्तो पीडाको घडीमा सबैको सानो सहयोगले पनि परिवारको भविष्यका लागि ठूलो सहारा बन्न सक्छ। त्यसैले शोकमा परेको भण्डारी परिवारलाई सक्दो सहयोग गरी मानवीय संवेदना प्रकट गर्न अपिल गरिएको छ।नयाँ मोटरसाइकल खरिद गरेको खुसी सामाजिक सञ्जालमा साटेको २४ घण्टा नबित्दै सडक दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका जवान लोकेश भण्डारीको परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ।














