बिहीबार · २२ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

गौरा एकादशी आज, भदौ १६ देखि सुरु हुँदैछ गौरा पर्व

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा एकादशी मनाइँदैछ।
  • श्रावण शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीका दिन गौरा उपासना गर्ने महिलाहरूले व्रत बस्ने परम्परा रहिआएको छ।
  • गौरा पर्वमा व्रत बस्ने महिलाहरूले गौरा एकादशीको दिनदेखि नै धार्मिक उपासना सुरु गर्ने गर्दछन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा एकादशी मनाइँदैछ। श्रावण शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीका दिन गौरा उपासना गर्ने महिलाहरूले व्रत बस्ने परम्परा रहिआएको छ।

गौरा पर्वमा व्रत बस्ने महिलाहरूले गौरा एकादशीको दिनदेखि नै धार्मिक उपासना सुरु गर्ने गर्दछन्। विशेषगरी पहिलोपटक गौरा व्रत बस्ने महिलाले गौरा एकादशीको व्रत अनिवार्य रूपमा बस्नुपर्ने स्थानीय चलन रहेको सुर्नया गाउँपालिका–६ की हरिना अवस्थीले बताइन्।

उनका अनुसार व्रतालु महिलाहरू दिनभर व्रत बसेर साँझ पूजाआजा गर्ने गर्दछन्। गौरा पर्वमा धारण गरिने दुवधागोसँग पनि गौरा एकादशीको धार्मिक परम्परा जोडिएको छ।

स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकका अनुसार गौरा एकादशी र जनैपूर्णिमाअघि दुवधागो धारण गर्ने चलन छैन। त्यसैले भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने पञ्चमी तिथिबाट गौरा पर्व मनाउने परम्परा रहेको उनले बताए।

“गौराको व्रत लिनुअघि गौरा एकादशीको व्रत लिने परम्परा रहिआएको छ,” लेखकले भने।

पण्डित शिवराज भट्टका अनुसार श्रावण शुक्ल एकादशीलाई नै गौरा एकादशीका रूपमा मान्दै व्रत बस्ने गरिन्छ। जनैपूर्णिमापछि गौरा पर्व मनाउने र त्यस क्रममा दुवधागो धारण गर्ने परम्परा रहेको उनले बताए।

सन्तान सुख र पारिवारिक कल्याणका लागि व्रत

गौरा पर्वलाई सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिसँग जोडेर हेर्ने गरिन्छ। त्यसैले पुत्रदा एकादशीलाई गौरा एकादशीका रूपमा मान्ने गरिएको आचार्य लेखक बताउँछन्।

धार्मिक मान्यताअनुसार पुत्रदा एकादशीको व्रत तथा उपासना गरेमा सन्तान प्राप्ति हुने विश्वास छ। यसबारे पुराणहरूमा लोमष ऋषिले देवकी र वासुदेवलाई पुत्रदा एकादशीको महत्व सुनाएको प्रसंगसमेत उल्लेख गरिएको छ।

गौरा पर्वमा पनि महिलाहरूले सन्तान सुख र परिवारको कल्याणको कामना गर्दै व्रत बस्ने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीका रूपमा मनाउने परम्परा रहेको लेखकको भनाइ छ।

भदौ १६ देखि गौरा पर्व

गौरा पर्व सामान्यतया भाद्र शुक्ल वा कृष्ण पक्षको पञ्चमी तिथिबाट सुरु हुने गर्दछ। भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने गरिन्छ।

यस वर्ष गौरा पर्व भाद्र कृष्ण पक्षमा परेको छ। स्थानीय परम्पराअनुसार यस वर्षको गौरा पर्व भदौ १६ गतेदेखि सुरु हुँदैछ।

सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्वमा व्रत, पूजा तथा विभिन्न सांस्कृतिक गतिविधि गरिन्छ। पर्वले यस क्षेत्रको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।