बेत्रावतीको एकै घरबाट २४ शव फेला, ड्रोनबाट भएको थियो घटनास्थल पहिचान

बेत्रावतीको एकै घरबाट २४ शव फेला, ड्रोनबाट भएको थियो घटनास्थल पहिचान

बाढी प्रभावित क्षेत्रमा खोजी गर्ने क्रममा नेपाल प्रहरी ड्रोनमार्फत घर पहिचान गरेपछि गरिएको खोजीमा २४ शव फेला

नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावती स्थित एउटा घरमा २४ वटा शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार गर्ने क्रममा नेपाल प्रहरी ड्रोन क्यामेराको सहयोगमा उक्त घर पहिचान गरेको हो।

नेपाल प्रहरीका अनुसार खोजीका क्रममा ड्रोनबाट एउटा शव देखिएपछि नेपाल प्रहरीका टोली घटनास्थलतर्फ परिचालन भएको थियो। बाढीले ल्याएको दलदले हिलो र भग्नावशेषका कारण घटनास्थलसम्म पुग्न कठिन अवस्था रहेको थियो।

नेपाल प्रहरीका निरीक्षक महेन्द्र दर्नाल र युवराज कटुवालको टोलीले स्थानीय रूपमा उपलब्ध जस्तापाता, काठ र डोरीलगायत सामग्रीको सहयोगमा हिलो पार गर्दै शव देखिएको घरसम्म पुगेर खोजी सुरु गरेको नेपाल प्रहरीले जनाएको छ।

घरभित्र थप खोजी गर्ने क्रममा अन्य शवसमेत फेला परेका थिए। नेपाल प्रहरीका अनुसार फेला परेका २४ शवमध्ये १ बालिका, ११ पुरुष र १२ महिला रहेका छन्।

नेपाल प्रहरीले शवको मुचुल्का तयार गर्ने तथा पहिचान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। घटनास्थलमा जमेको दलदले हिलोका कारण शव व्यवस्थापन तथा उद्धार कार्यमा कठिनाइ भइरहेको नेपाल प्रहरीले बताएका छन्।

बेत्रावती क्षेत्रमा नेपाल प्रहरी स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा जुटिरहेको छ।

स्रोत: नेपाल प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *