आँखाको दृष्टि गुमाएका ४२ वर्षीय जगी सिंह महरा,जिर्ण घर र चरम गरिबीमा कष्टकर जीवन बिताउदै
बैतडी — बैतडीको सुर्नया गाउँपालिका–४ नोडालेकका ४२ वर्षीय जगी सिंह महरा विगत १५ वर्षदेखि दुवै आँखाको दृष्टि गुमाएर कष्टकर जीवन बिताउन बाध्य छन्। पाँच छोरीका बुवा महरा अहिले चरम गरिबी, अपाङ्गता र जिर्ण घरको समस्याबीच जीवन गुजारिरहेका छन्।
महराको घरसमेत निकै जिर्ण अवस्थामा रहेको छ। आर्थिक अवस्था कमजोर भएका कारण घर मर्मत तथा पुनर्निर्माण गर्न नसक्दा उनी जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन्। दुवै आँखाको दृष्टि गुमाएपछि दैनिक जीवनयापनमा समेत कठिनाइ भोग्दै आएका महराको परिवारलाई आर्थिक समस्या थप चुनौती बनेको छ।
अपाङ्गता भएका तथा विपन्न नागरिकका लागि राज्यले विभिन्न सेवा–सुविधा र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आए पनि महराको अवस्थाप्रति सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।
स्थानीयले ४२ वर्षीय जगी सिंह महराको दयनीय अवस्थाप्रति सुर्नया गाउँपालिका, वडा कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायले तत्काल ध्यान दिई उनको परिवारको सुरक्षित आवास तथा जीवनयापनका लागि आवश्यक सहयोग गर्न माग गरेका छन्।