५१ हजारको अक्षयकोष सहित राष्ट्रिय मा बि फाटीगडाको ६७ औ बार्षिकोत्सब सम्पन्न
बैतडी — जिल्ला व्यवस्थापन समिति अध्यक्ष तथा सुर्नया गाउँपालिका वडा नं. ०४ का वडा अध्यक्ष, साथै सुर्नया गाउपालिका प्रवक्ता प्रताप महराको सभाध्यक्षतामा र समन्वय समिति बैतडी का अध्यक्ष खगेन्द्र धामीको प्रमुख आतिथ्यतामा राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडा, सुर्नया गाउँपालिका–०४ को ६७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयले करिब ७० लाख रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता र उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
त्यसैगरी, दोगडा केदार गाउँपालिका–०२ घर भई हाल अमेरिका बस्दै आएका रैभान महराद्वारा ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। उक्त अक्षयकोषले विद्यालयको दीर्घकालीन शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
प्रमुख अतिथि धामीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण र समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले “शिक्षा बलियो भए मात्र समाज बलियो हुन्छ” भन्दै सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य सहभागिताले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो।
उत्सवसँगै आएको आर्थिक पारदर्शिता र अक्षयकोष स्थापना जस्ता पहलहरूले विद्यालय विकासप्रति नयाँ आशा जगाएको छ।