बैतडी :
“देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरूको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन्” भन्ने मूल नारासहित डडेल्धुराका नागरिक निरज भट्टले “सक्षम नागरिक – समृद्ध डडेल्धुरा” अभियानको घोषणा गरेका छन्।
भट्टले आफ्नो व्यक्तिगत लगानी र नेतृत्वमा २०८३ साल बैशाखदेखि प्रत्येक महिनाको १ गते बेलुका ६:०० बजेदेखि ९:०० बजेसम्म सम्बन्धित क्षेत्रका शीर्ष विज्ञ, प्रशिक्षक तथा अनुभवी व्यक्तित्वहरूको सहभागितामा ३ घण्टे निशुल्क भर्चुअल अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन्।
उनका अनुसार यो कुनै राजनीतिक कार्यक्रम नभई डडेल्धुरामा सक्षम नागरिक निर्माण गर्ने उद्देश्यले एक जिम्मेवार नागरिकको पहल मात्र हो। कार्यक्रममा डडेल्धुरा जिल्लाका मतदाता मात्र सहभागी हुनेछन् भने कार्यक्रमका रेकर्डेड भिडियोहरू युट्युबमार्फत सार्वजनिक गरिनेछ, जसले देशभरका नागरिकलाई पनि जानकारी लिन मद्दत गर्नेछ।
अभियानअन्तर्गत २०८३ सालभर विभिन्न विषयमा मासिक कार्यक्रम सञ्चालन गरिनेछ। बैशाख १ गते उद्यमशीलता तथा स्थानीय उत्पादन प्रवर्द्धन, साना–मझौला तथा घरेलु उद्योगको विकास, ब्रान्डिङ र बजारिकरणका विषयमा कार्यक्रम हुनेछ। जेठ १ गते आधुनिक तथा व्यवसायिक कृषि, युवालाई कृषितर्फ आकर्षित गर्ने उपाय तथा “आफ्नै माटोमा सम्भावना छ” अभियानबारे छलफल हुनेछ।
असार १ गते गुणस्तरीय शिक्षा र अभिभावकको भूमिका, विद्यार्थीको भविष्य निर्माणमा अभिभावक, शिक्षक र विद्यालयको जिम्मेवारीबारे अभिमुखीकरण हुनेछ। साउन १ गते डडेल्धुराको पर्यटन सम्भावना, स्थानीय पर्यटन प्रवर्द्धन र पर्यटनबाट आय आर्जनका अवसरबारे कार्यक्रम सञ्चालन गरिनेछ।
भदौ १ गते स्वास्थ्य, जीवनशैली र वातावरण सम्बन्धी सचेतना, स्वस्थ खानपान, मानसिक स्वास्थ्य, सरसफाइ तथा जलवायु परिवर्तनका विषयमा छलफल हुनेछ भने असोज १ गते Civic Sense, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा जिम्मेवार नागरिक निर्माणमा युवाको भूमिकाबारे कार्यक्रम हुनेछ।
कात्तिक १ गते डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोग, प्रविधिको सही उपयोगका विषयमा कार्यक्रम आयोजना गरिनेछ। मंसिर १ गते संविधान, नागरिक अधिकार र लोकतन्त्रमा नागरिकको भूमिकाबारे राजनीतिक तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन हुनेछ।
त्यस्तै, पुस १ गते Smart Village/Smart Community Concept तथा गाउँमै अवसर सिर्जना गर्ने उपायबारे कार्यक्रम हुनेछ। माघ १ गते Digital Economy र Online Income Opportunities विषयमा डिजिटल माध्यमबाट आय आर्जनका सम्भावनाबारे जानकारी दिइनेछ।
फागुन १ गते बैंक, बीमा, शेयर बजार र समग्र वित्तीय व्यवस्थापनबारे वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिनेछ। चैत १ गते महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने तालिका सार्वजनिक गरिएको छ।
भट्टका अनुसार अभियानको पहिलो वर्षका १२ वटै कार्यक्रम पूर्ण रूपमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछन् र सहभागीका लागि पूर्णतः निशुल्क रहनेछन्। अभियानले डडेल्धुरामा सचेत, सक्षम र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। सो अभियान डडेलधुराका स्थानीय निरज भट्टले संचालन गरेका हुन ।





