बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा गौरापर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
सुर्नया युनाइटेड क्लबको आयोजनामा आगामी २०८३ साल भदौ १४ गते श्री वासुदेव माध्यमिक विद्यालयको प्राङ्गणमा क्लबको उद्घाटन समारोहसँगै गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित गायक तथा मोडल चक्र बम र चर्चित गायिका हरिना नाथको विशेष प्रस्तुति रहनेछ। साथै स्थानीय संस्कृति तथा परम्परा झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। गौरापर्वको मौलिक संस्कृति संरक्षण तथा मनोरञ्जनसँगै स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
सुर्नया युनाइटेड क्लबले कार्यक्रममा स्थानीय बासिन्दा तथा दर्शकलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।
