बैतडी : तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा गायक श्रीकान्त राना क्षेत्री राष्ट्रप्रेम झल्किने गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्। बैतडीको डिलाशैनीमा उदीयमान गायक क्षेत्रीले यो गीतबाट आफ्नो संगीत यात्रा मा पहिलोपटक राष्ट्रिय स्तरको अवार्ड जितेका हुन्।
श्रीकान्तले यो उपलब्धिलाई आफ्नो “पहिलो सफलता, पहिलो खुसी र पहिलो औपचारिक मान्यता” को रूपमा चित्रित गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्, “म एक सिक्दै गरेको, घुँडा टेक्दै अघि बढिरहेको कलाकार हुँ। तपाईंहरूको अमूल्य भोटले आज म यो सम्मानको हकदार बन्न सकेको छु।”
अवार्डसँगै जिम्मेवारी थपिएको महसुस भएको भन्दै उनले आगामी दिनहरूमा अझ समर्पण, लगन र निष्ठाका साथ संगीत क्षेत्रमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मतदाता, शुभेच्छुक, आयोजक संस्था र विशेष प्रेरणाका स्रोतहरूलाई गहिरो धन्यवाद र सम्मान प्रकट गरेका छन्।
यो अवार्डले नेपाली संगीत क्षेत्रमा उदीयमान प्रतिभालाई थप हौसला दिएको छ।






