बैतडी — महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक लेखापरीक्षण योजना तथा लेखापरीक्षण नीति अनुसार पहिलो चरणमा ४४ जिल्लामा स्थलगत लेखापरीक्षण गरिरहेको जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार पहिलो चरणमा हुने लेखापरीक्षणका जिल्लाको सूचीमा बैतडी पनि परेको छ। लेखापरीक्षणका क्रममा सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल र अन्तरक्रिया गरी लेखापरीक्षणमा सहयोग पुग्ने सुझाव तथा प्राप्त गुनासोको सम्बोधन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने भएको छ।
महालेखापरीक्षकको कार्यालयका अनुसार ‘लेखापरीक्षण बेरुजु तथा सम्परीक्षण सम्बन्धमा सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया’ कार्यक्रम २०८३ भदौ २५ गते बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रम भर्चुअल माध्यम (जुम) बाट हुने सूचनामा उल्लेख छ।
पहिलो चरणमा लेखापरीक्षण हुने जिल्लाहरूमा ताप्लेजुङदेखि बैतडीसम्मका विभिन्न जिल्ला समेटिएका छन्। सूचीमा बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ, डोटी, अछामलगायत सुदूरपश्चिमका जिल्लाहरू पनि रहेका छन्।
महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा देखिएका बेरुजु, सम्परीक्षण तथा अन्य विषयमा सरोकारवालाको सुझाव र गुनासोलाई समेत सम्बोधन गर्ने जनाएको छ।

