बैतडीको पुर्चौडी–१ ले ७० वर्षमाथिका विधुर पुरुषको तथ्याङ्क संकलन गर्दै

बैतडी, असार २९ – बैतडीको पुर्चौडी नगरपालिका–१ ले वडाभित्र रहेका ७० वर्ष उमेर पूरा गरेका विधुर (एकल पुरुष)हरूको तथ्याङ्क संकलन सुरु गरेको छ।

वडा अध्यक्ष गणेश बहादुर गडालद्वारा जारी सूचनाअनुसार वडा नं. १ अन्तर्गतका ९ वटै टोलमा बसोबास गर्ने ७० वर्षमाथिका विधुर पुरुषले आगामी असार ३२ गतेभित्र वडा कार्यालयमा उपस्थित भई आफ्नो विवरण दर्ता गराउनुपर्नेछ।

तथ्याङ्क संकलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र तथा श्रीमतीको मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्ध विच्छेदको प्रमाणपत्रको सक्कल प्रति साथ ल्याउन वडा कार्यालयले अनुरोध गरेको छ।
विधुर पुरुषहरूको वास्तविक अवस्था पहिचान गरी आवश्यक नीति, योजना तथा लक्षित कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

स्थानीय स्तरमा पछाडि परेका र कम प्राथमिकतामा पर्ने विधुर (एकल पुरुष)हरूको अवस्था अभिलेखीकरण गर्ने पुर्चौडी–१ को यो पहललाई सकारात्मक रूपमा हेरिएको छ। यस्ता वर्गको पहिचान गरी आवश्यक सहयोग र सेवामा पहुँच सुनिश्चित गर्न अन्य स्थानीय तहले पनि यस्तै अभियान सञ्चालन गर्नु पर्ने आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *