बैतडी सहित सुदुरपश्चिममा आज पुस १५ मनाइँदै

बैतडी : आज पुस महिनाको १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मीठा मीठा खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ ।

‘रातभरी कथा, कहानी (स्थानीय भाषामा आइना, बात) सुन्ने र सुनाउनेसंगै तरुल सखरगखण्ड पकाएर खाने गरिन्छ,’ पण्डित लोकराज भट्टले भने, ‘पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकारहरु खाने गर्दछन् ।’

तेल वा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ । पुष १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित भट्टले बताए ।

एक दिन भएपनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहिआएको छ । डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ ।

आजदेखि दिनहरु विस्तारै लम्बिदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रुपमा मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *