बैतडी — बैतडी जेन्जी युवा समूहको आयोजनामा बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा विचार अभिव्यक्तिको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समूहले जनाएको छ।
समूहले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रतियोगितामा सहभागी पठाइदिन आग्रह गरेको छ। पत्रअनुसार नगरपालिकाबाट महिला तथा पुरुषको समावेशी सहभागिता सुनिश्चित हुने गरी तीन जना र गाउँपालिकाबाट दुई जना प्रतिभाशाली तथा इच्छुक युवालाई छनोट गरी पठाउन अनुरोध गरिएको छ।
प्रतियोगिता आगामी २०८३ कात्तिक ८ गते बिहान ८ बजे बैतडीको पाटन खुला मञ्चमा सञ्चालन हुने जनाइएको छ।प्रतियोगितामा प्रथम हुनेले १५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र, द्वितीय हुनेले ११ हजार १११ रुपैयाँसहित प्रमाणपत्र र तृतीय हुनेले ५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
छनोट भएका सहभागीहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण कात्तिक ६ गते दिउँसो १२ बजेसम्म आयोजकलाई पठाउनुपर्नेछ। प्रतियोगिताको वक्तृत्वकला शीर्षक भने सोही दिन साँझ ५ बजे उपलब्ध गराइने आयोजकले जनाएको छ।
बैतडीका युवाहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको नेतृत्व र वक्तृत्वकला क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।







पाठक प्रतिक्रिया ०