काठमाडौँ — राजधानीको व्यस्त सडक नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी एक महिला प्रहरीमाथि मंगलबार बिहान हातपात भएको छ। जथाभावी बाटो काट्दै गरेका एक पैदलयात्रीलाई सुरक्षित रूपमा ‘आकाशे पुल प्रयोग गर्न’ आग्रह गर्दा विवाद गरी ती व्यक्तिले प्रहरीमाथि नै आक्रमण गरेका हुन्।
प्रहरीका अनुसार मंगलबार बिहानको ‘पिक आवर’मा पुरानो संसद् भवन नजिकै उक्त घटना भएको हो। सडक नियम उल्लङ्घन गर्दै बाटो काट्न खोजेका एक युवकलाई ड्युटीमा रहेकी महिला प्रहरी जवानले रोकेकी थिइन्। सडक दुर्घटनाबाट बच्न आकाशे पुलको प्रयोग गर्न सम्झाउँदा ती युवक आक्रोशित बनेका थिए। विवाद बढ्दै जाँदा उनले महिला प्रहरीमाथि एक्कासि हातपात गरेको र उनलाई जोगाउन आएका अन्य दुई जना ट्राफिक प्रहरीलाई समेत दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जुम्लाको तातोपानी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँको बानेश्वर–१० मा बस्दै आएका २७ वर्षीय राज कठायतलाई तत्काल पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडक सचेतना र ट्राफिक व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण भएलगत्तै घटनास्थलमा रहेका अन्य प्रहरीहरूको सहयोगमा कठायतलाई नियन्त्रणमा लिइएको हो।
हाल उनलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ। ड्युटीमा रहेका सरकारी कर्मचारीलाई अवरोध पुर्याएको र अभद्र व्यवहार गरेको कसुरमा उनीमाथि कानुनबमोजिम थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
