बैतडी। बैतडीको सुर्नया गाउँपालिका–७ अन्तर्गत पत्थरकोट–मोतीनगर–आरबग्रर–भालगोईरा हुँदै चौथाली वडा कार्यालयसम्म जोड्ने सडक लामो समयदेखि अधुरो रहेको भन्दै राष्ट्रिय युवा संघ जिल्ला सदश्य एबम् स्थानिय युवा प्रकाश कुवँरले नवनिर्वाचित सङ्घीय सांसद हरिमोहन भण्डारीको ध्यानाकर्षण गराएका छन्।
कुवँरले आफ्नो सामाजिक सञ्जालमार्फत हार्दिक अपिल सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ देखि २०८१/८२ सम्म उक्त सडकका लागि पटक–पटक बजेट विनियोजन हुँदै आएको र करिब दुई करोड रुपैयाँ बराबरको बजेट विनियोजन वा खर्च भएको भनिए पनि करिब ६ किलोमिटर सडकखण्ड अझै सहज आवतजावत गर्न सकिने अवस्थामा पुग्न नसकेको उल्लेख गरेका छन्।
सडक निर्माणमा बजेट विनियोजन हुँदै आए पनि स्थानीयवासीले अपेक्षित सुविधा पाउन नसकेको भन्दै उनले हालसम्म विनियोजन भएको बजेट र वास्तविक खर्चको पारदर्शी विवरण सार्वजनिक गर्न माग समेत गरेको उहाले बताउभयो।
सडकको दयनीय अवस्थाका कारण विद्यार्थीलाई विद्यालय आवतजावत गर्न, बिरामीलाई समयमै अस्पताल पुर्याउन तथा गर्भवती महिलालाई सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको उनको भनाइ छ। सडकको समस्या स्थानीय नागरिकको स्वास्थ्य, शिक्षा र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको भन्दै उनले यसको समाधानका लागि सम्बन्धित निकायले गम्भीरता देखाउनुपर्ने बताएका छन्।
कुवँरले सांसद भण्डारीलाई उक्त सडकलाई प्राथमिकतामा राख्दै सम्बन्धित मन्त्रालय, सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय गर्न, सडकको स्थलगत अनुगमन गराउन र अधुरो निर्माण कार्य सम्पन्न गर्न पहल गरिदिन आग्रह गरेका छन्।
साथै, विगतमा विनियोजन भएको बजेट र खर्चको विवरण सार्वजनिक गर्न, सडकको प्राविधिक अवस्था मूल्याङ्कन गरी आवश्यक मर्मत तथा स्तरोन्नति गर्न र बाँकी निर्माण कार्यका लागि आवश्यक बजेट सुनिश्चित गर्न उनले माग गरेका छन्।
“हामीलाई आश्वासन मात्र होइन, काम गरेर देखाएको परिणाम चाहिएको छ,” भन्ने भावसहित उनले दुर्गम क्षेत्रका नागरिकले पनि सुरक्षित सडक र सहज सेवा पाउनुपर्नेमा जोड दिएका छन्।







पाठक प्रतिक्रिया ०