काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
देउवाले बिहीबार अपिल जारी गर्दै देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरी अधिवेशन सुरु हुन लागेको बताएका छन्। उनले पार्टीको झण्डै आठ दशक लामो इतिहास रहेको उल्लेख गर्दै १५औँ महाधिवेशनलाई महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन्।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि नेपाली कांग्रेसले गरेका त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण रहेको देउवाको भनाइ छ।
उनले देशभरका वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
साथै, पार्टीभित्र देखिएका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन्।
देउवाले समाजिक सञ्जालमा लेख्दै सम्पूर्ण कांग्रेसजनलाई वडा अधिवेशन सफल बनाउन आग्रह समेत गरेका छन्।







पाठक प्रतिक्रिया ०