बाजुराको बुढीगंगा सडक खण्डमा बस दुर्घटना: ब्रेक फेल हुँदा २६ जना घाइते, उद्धार कार्य जारी
बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
बिहान ७:१० बजेको समयमा साफेबगर–मार्तडी सडकखण्डअन्तर्गत पर्ने रिठाबजार नजिकै बसको ब्रेक फेल भएको थियो। ब्रेक फेल भएपछि बस सडकको बाँयातिरको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसका चालक खप्तड छेडेदह गाउँपालिका–५ का ४३ वर्षीय खडक बुढा रहेका छन्।
दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा खटिएको टोलीले उद्धार कार्य सुरु गरेको थियो।
- जिल्ला अस्पताल बाजुरा: २३ जना घाइतेको उपचार भइरहेको छ।
- बयालपाटा अस्पताल, अछाम: १ जनालाई थप उपचारका लागि रिफर गरिएको छ।
- अन्य: २ जना घाइते सामान्य उपचारपछि आफैं मोटरसाइकलमार्फत अस्पताल पुगेका छन्।
घाइतेहरूको नाम र ठेगानाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीका अनुसार, अहिले घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ। प्रहरीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
सडकको अवस्था र सवारी साधनको अवस्थालाई मध्यनजर गर्दै सुरक्षित यात्रा गर्न प्रहरीले सबै यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ।
तस्बिर: Social media