बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका गोविन्दप्रसाद आचार्य स्वास्थ्य समस्याका कारण तत्काल कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन्।
आचार्यलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको थियो। उनी कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हाल्ने तयारीमा रहे पनि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल आउन नसक्ने जानकारी गराएको बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित हुन नसक्दा गाउँपालिकाको प्रशासनिक तथा दैनिक कामकाज प्रभावित भएको छ। महत्वपूर्ण प्रशासनिक निर्णय, आर्थिक कारोबार तथा सेवाग्राहीलाई प्रदान गरिने नियमित सेवामा समेत असर पर्ने अवस्था देखिएको छ।
यसअघि पनि सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थितिमा समस्या देखिँदै आएको थियो। नयाँ हाकिम आउने भएपछि प्रशासनिक कामकाज सहज हुने अपेक्षा गरिएका बेला स्वास्थ्य समस्याका कारण आचार्य नआउने जानकारीले पुनः अन्योल सिर्जना गरेको छ।
गाउँपालिकाको सेवा प्रवाहलाई नियमित बनाउन प्रमुख प्रशासकीय अधिकृतको तत्काल व्यवस्थापन गर्नुपर्ने स्थानीय तथा सेवाग्राहीको माग छ। नागरिकका दैनिक कामकाज प्रभावित हुन नदिन सम्बन्धित निकायले वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिएको छ।
