भूमेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई टिफिन बक्स र पानीको बोतल वितरण
बैतडी – पाटन नगरपालिका वडा नं. ०४ को आर्थिक सहयोगमा स्थानीय भूमेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खाना बोक्ने हटकेश/टिफिन र पानी राख्ने बोतल वितरण गरिएको छ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थी भाइबहिनीहरूलाई लक्षित गरी उक्त स्वास्थ्य तथा पोषण प्रवर्द्धन सामग्री वितरण गरिएको हो। पछिल्लो समय विद्यालय उमेरका बालबालिकाहरूमा बढ्दै गएको जंक फुड (पत्रु खाना) को उपभोगलाई न्यूनीकरण गर्ने र उनीहरूको पोषण अवस्थामा सुधार ल्याउने मुख्य उद्देश्यका साथ वडा कार्यालयले यो सहयोग उपलब्ध गराएको हो।
घरबाटै स्वच्छ, ताजा र पोसिलो खाना बोक्न सहज होस् भन्ने हेतुले वितरण गरिएका यी सामग्रीले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउनुका साथै जंक फुडमुक्त वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास विद्यालय र वडा प्रशासनले लिएको छ।