सुर्नयामा पहिरोको कहर : दर्जनौँ परिवार जोखिममा, खेतीयोग्य जमिनमा ठूलो क्षति
बैतडी — सुर्नया गाउँपालिका–८, ढोले रातापानी टोलमा मंगलबार साँझ करिब ७ बजे शुक्का पहिरो गएपछि स्थानीयवासी त्रसित बनेका छन्। पहिरोका कारण घर, आँगन, शौचालय, भान्सा, विद्युत्का पोल, खानेपानीको पाइप तथा खेतीयोग्य जमिनमा क्षति पुगेको छ। केही परिवार उठिबास हुने अवस्थामा पुगेका छन्।
प्रारम्भिक विवरणअनुसार गम्भीरसिंह बोहराको करिब ३ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलमा क्षति पुगेको छ। घर नजिकै रहेको पहिरोका कारण घर–आँगनसमेत जोखिममा परेको छ।
त्यस्तै, जयसिंह, नरबहादुर, शलेन्द्र र कृष्ण बोहराको करिब ५ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको स्थानीयले बताएका छन्।
उद्बव बोहराको घर उच्च जोखिममा परेको छ। घर–आँगनको पर्खाल, शौचालय र भान्सा पूर्ण रूपमा भत्किएको छ भने विद्युतको पोलसमेत ढल्ने अवस्थामा पुगेको छ। करिब २ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूल पहिरोले पुरेको छ। पहिरोको जोखिमकै कारण गत वर्ष उनको परिवार तराई बसाइँ सर्न बाध्य भएका भुमिराज मा.बी का शिक्षक रामसिह बोहरा ले बताउनु भयो।
धनुवा बोहराको घर पनि उच्च जोखिममा परेको छ। घर–आँगनको पर्खाल, शौचालय र भान्सामा पूर्ण क्षति पुगेको छ। विद्युत्को मुख्य पोल ढलेर तारसमेत टुटेको छ। करिब ३ रोपनीमा लगाइएको मकै तथा फलफूल पूर्ण रूपमा नष्ट भएको छ भने खानेपानीको पाइपसमेत बगेको छ। पहिरोको डरका कारण उनी छिमेकीको घरमा आश्रय लिएर बस्नुपर्ने अवस्थामा पुगेका उहाको भनाई छ।
रामसिंह बोहराको घर उच्च जोखिममा छ। घरको आँगन पहिरोले बगाएको छ भने विद्युत्को पोल ढल्ने अवस्थामा पुगेको छ। घर छाउन ल्याइएको करिब एक लाख रुपैयाँ बराबरको ढुंगा पनि पहिरोले बगाएको बताइएको छ। करिब ३ रोपनीमा लगाइएको मकैबाली तथा फलफूलमा क्षति पुगेको छ। रातको समयमा पहिरोको डरले छिमेकीको घरमा गएर बस्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।

मिना बोहराको घर–आँगनमा दरार परेको छ। करिब २ रोपनी मकैबारी तथा फलफूलमा क्षति पुगेको छ भने विद्युत्को तार टुटेर पोलसमेत ढल्ने अवस्थामा पुगेको छ।
चक्र बोहराको करिब २ रोपनी जमिनमा लगाइएको मकैबाली तथा फलफूलमा क्षति पुगेको छ। आनन्दसिंह बोहराको करिब डेढ रोपनी तथा धौली बोहराको करिब डेढ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलमा समेत पहिरोले क्षति पुर्याएको छ।
त्यस्तै, जनक तथा लाल, पठानसिंह र भानबहादुर बोहराको करिब ५ रोपनी खेतीयोग्य जमिनसमेत पहिरोको उच्च जोखिममा परेको छ।
स्थानीयका अनुसार गम्भीरसिंह बोहरा, धनुवा बोहरा, उदयसिंह, रामसिंह, मिना बोहरा, चक्र बोहरा र कृष्ण बोहरालगायतका परिवार उठिबास हुने अवस्थामा पुगेका छन्।
स्थानीयका अनुसार उक्त क्षेत्रमा २०७४ सालदेखि पहिरो सुरु भए पनि अहिलेसम्म यसको प्रभावकारी नियन्त्रण तथा दीर्घकालीन समाधान हुन सकेको छैन। वर्षायामसँगै पहिरो थप सक्रिय भएपछि स्थानीयहरू रातभर त्रासमा बस्न बाध्य भएका छन्।

स्थानीय सरकारले बेला–बेला पहिरो नियन्त्रणका लागि आवश्यक पहल गर्ने र समस्या समाधान गर्ने आश्वासन दिँदै आए पनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। वर्षौंदेखि पहिरोको जोखिममा रहेका बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ।
स्थानीयले अब आश्वासनमा मात्र सीमित नभई तत्काल स्थलगत निरीक्षण गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन, क्षतिको उचित मूल्यांकन, विद्युत् तथा खानेपानी सेवा पुनःस्थापना र पहिरो नियन्त्रणका लागि ठोस तथा दीर्घकालीन योजना बनाउन स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
