धनगढी । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने Top End T20 Series मा सहभागी हुन पुगेको नेपाली ‘ए’ टोलीले भोली पहिलो खेल खेल्दैछ।
अनिल शाहको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली Northern Territory Strike को सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।
नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीहरूको समेत सहभागिता रहेको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, लोकेश बम, शाहब आलम, राशिद खान र आकाश चन्दलगायत खेलाडी रहेका छन्।
नेपाली ‘ए’ टोलीले प्रतियोगितामा विभिन्न बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल ‘ए’ को खेल तालिका अनुसार अगस्ट २२ मा Bangladesh HP, अगस्ट २४ मा Hobart Hurricanes, अगस्ट २६ मा ACT Comets, अगस्ट २७ मा Kingsmen र अगस्ट २९ मा Victoria विरुद्ध खेल्नेछ।
गत संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाली टोली यसपटक भने सुधारिएको प्रदर्शनसहित प्रतियोगितामा प्रभाव जमाउने लक्ष्यमा छ। युवा तथा अनुभवी खेलाडीको मिश्रण रहेको नेपाली टोलीका लागि Top End T20 Series आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ।
नेपाली क्रिकेट समर्थकहरूले ‘ए’ टोलीबाट यसपटक उत्कृष्ट प्रदर्शन र सुखद नतिजाको अपेक्षा गरेका छन्।
