कैलालीमा सैन्य तालिमका क्रममा ग्रेनेड विस्फोट, एक सैनिकको मृत्यु ।
कैलाली, असार २५ । कैलालीको मोहोन्याल गाउँपालिका–७ स्थित जलपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको सैन्य तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक सैनिकको मृत्यु भएको छ भने एक अधिकृत घाइते भएका छन्।
बिहीबार बिहान करिब ९:१७ बजे भएको उक्त घटनामा सार्जेन्ट हिमाल विक्रम बिष्ट गम्भीर घाइते भएका थिए। उनको दायाँ हातमा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेका कारण उपचारका क्रममा निधन भएको बताइएको छ।
विस्फोटमा परी लेफ्टिनेन्ट हेमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरमा छर्रा लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जनाइएको छ।
घटना गोरांगे ब्यारेक अन्तर्गत सञ्चालन भइरहेको फायर तालिमका क्रममा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको कारण र अन्य पक्षबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।