सिगास गाउँपालिकामा आइतबारको बिदा कटौती, अब साताभरि नै सेवा प्रवाह
बैतडी: बैतडीको सिगास गाउँपालिकाले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ। गाउँकार्यपालिकाको असार ४ गतेको बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेसँगै अब गाउँपालिका मातहतका सबै कार्यालय र विद्यालयहरू साताभरि नै सञ्चालनमा आउने भएका छन्।
लामो समयदेखि हप्तामा दुई दिन बिदा हुँदा सेवाग्राहीहरूलाई सास्ती भएको र विभिन्न क्षेत्रबाट सेवा प्रवाहमा असहजता भएको भन्दै व्यापक जनगुनासो आएपछि गाउँपालिकाले यस्तो कदम चालेको हो। प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर बोहराका अनुसार, अब आइतबार पनि सेवा नियमित रूपमा सुचारु हुनेछ।
कार्यालय सञ्चालनको नयाँ समय तालिका:
गाउँपालिकाले सार्वजनिक गरेको नयाँ सूचनाअनुसार अब कार्यालयहरूले सिजनअनुसार तल उल्लेखित समयमा सेवा प्रवाह गर्नेछन्:
- कार्तिक १५ गतेसम्म: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।
- कार्तिक १६ देखि माघ १५ सम्म: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म।
- माघ १६ देखि चैत मसान्तसम्म: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।
त्यसैगरी, शुक्रबारको दिन भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय सञ्चालन हुनेछ। यो निर्णय लागू भएसँगै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीलाई थप सहज हुने गाउँपालिकाले अपेक्षा गरेको छ।
