भाद्र ०५ सुर्नया बैतडी : बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा गएको पहिरोको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मिना अर्यालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समिति, स्थानीय प्रतिनिधि तथा पत्रकारहरूको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले पहिरो प्रभावित परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गरिने बताउनुभएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय सरकारसँग आवश्यक समन्वय गरी व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो।
तर रातापानीमा २०७४ सालदेखि नै पहिरोको समस्या देखिँदै आएको छ। पहिरोका कारण कसैको उठीबास नै भए छ भने करिब २५ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ स्थानीय गजेन्द्र बोहराका अनुसार ६ घर उच्च जोखिममा र थप २५ घर जोखिमपुर्ण अबस्थमा रहेका छन्।
वर्षौंदेखि पहिरोको जोखिम रहँदा पनि यसको दीर्घकालीन नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सुर्नया गाउँपालिकाले ठोस पहल गर्न नसकेको स्थानीय रामसिह बोहराको गुनासो छ। अनुगमन, आश्वासन र राहतमा मात्रै सीमित नभई पहिरो नियन्त्रणका लागि आवश्यक बजेट, प्राविधिक अध्ययन तथा संरचनात्मक काम तत्काल अघि बढाउनुपर्ने उहाको माग छ।
जिल्ला विपद् व्यवस्थापन समितिले प्रभावित परिवारका लागि तत्काल राहत, अस्थायी आवास तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राख्ने जनाएको छ। पटक पटक आश्वासन दिएपनि स्थानीय सरकारले यो बिषयमा ठोस निर्णय गर्न सकेको छैन।
स्थानीयले जिल्ला तहबाट भएको पहललाई स्वागत गर्दै सुर्नया गाउँपालिकाले पनि अब ठोस योजना बनाएर पहिरो नियन्त्रणको काम अघि बढाउनुपर्ने माग गरेका छन्।
