Popular Posts

सामाजिक सञ्जालमा अफवाह फैलाउने र सद्भाव भड्काउनेलाई हदैसम्मको कारबाही गरिने: प्रशासन बैतडी

बैतडी, १७ असार जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाको शान्ति सुरक्षा र जनमानसको मनोविज्ञानमा नकारात्मक असर पार्ने गतिविधि नगर्न कडा चेतावनी दिएको छ। कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै निषेध गरिएका गतिविधि गरे वा गराएको पाइएमा कानुन बमोजिम हदैसम्मको कारबाही गरिने स्पष्ट पारेको हो।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईद्वारा हस्ताक्षरित सूचना अनुसार, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, ध्वनि प्रदुषण र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिहरू बढेको पाइएकाले ७ बुँदे निर्देशन जारी गरिएको हो।

प्रशासनले पूर्ण रूपमा रोक लगाएका ७ मुख्य गतिविधिहरू:

  • सञ्जालमा गालीगलौज र अफवाह: सामाजिक सञ्जालमा कुनै पनि व्यक्ति वा समुदायलाई लक्षित गरी अनावश्यक आक्षेप, गाली, बेइज्जती वा अश्लील शब्द/संकेत प्रयोग गर्न नपाइने। साथै, सर्वसाधारणलाई आतंकित पार्ने खालका अफवाहपूर्ण सूचना र समाचार सम्प्रेषण गर्न निषेध गरिएको छ।
  • हतियार प्रदर्शन र र्‍याली: सांस्कृतिक तथा धार्मिक चाडपर्व मनाउने बहानामा निकालिने सार्वजनिक र्‍याली, जुलुस वा समारोहहरूमा सक्कली वा नक्कली हतियारहरू खुला रूपमा प्रदर्शन गर्न र चलाउन पूर्ण रोक लगाइएको छ।
  • उत्तेजक नाराबाजी र सद्भाव: सार्वजनिक स्थानमा जुलुस निकाल्ने बहानामा सामाजिक र धार्मिक सद्भाव भड्काउने खालका उत्तेजक नाराबाजी गर्न र चेतावनी दिन पाइने छैन।
  • परिमार्जित साइलेन्सर र तीव्र गति: मोटरसाइकलको साइलेन्सर परिमार्जन (Modifiy) गरी ठूलो आवाज निकाल्ने, सर्वसाधारणलाई आतंकित पार्ने र तीव्र गतिमा सवारी गुडाउने कार्यलाई नियन्त्रण गरिनेछ।
  • साउण्ड सिस्टम र मदिरा सेवन: पूर्व स्वीकृति बिना समुदायलाई असर पर्ने गरी सार्वजनिक स्थानमा ठूलो आवाजमा माइक तथा साउण्ड सिस्टम बजाउन पाइने छैन। साथै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र शान्ति सुव्यवस्थामा खलल पुर्‍याउनेलाई नियन्त्रणमा लिइनेछ।

प्रशासनले यो निर्देशनको अवज्ञा गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएको छ। जिल्लामा अमनचयन कायम राख्नका लागि यो निर्णय लिइएको भन्दै प्रशासनले नागरिकहरूलाई यसको पूर्ण पालना गर्न अपिल समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *