२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा
काठमाण्डौ-२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरु हुने भएको छ।
आगामी मे ३१ देखि जुन ९ (जेठ १७ देखि जेठ २६) सम्म सिंगापुरमा आयोजना हुने२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगितामा नेपालसहित १३ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
यो प्रतियोगिता ट्वेन्टी–२० अन्तर्राष्ट्रिय (T20I) संरचनामा खेलाइनेछ। प्रतियोगिताको शीर्ष चार टोलीले मात्र जापानमा आयोजना हुने आगामी एसियाली खेलकुदका लागि आफ्नो स्थान सुरक्षित गर्नेछन्।
नेपाललाई समूह ‘ए’ मा इन्डोनेसिया र थाइल्याण्डसँगै राखिएको छ। तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल जेठ १७ गते (३१ मे २०२६) इन्डोनेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै, समूह चरणको दोस्रो खेलमा नेपालले जेठ २१ गते (४ जुन) थाइल्याण्डको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछ।
नयाँ खेलाडीहरूको आगमन र पछिल्लो उत्कृष्ट लयका कारण नेपाली टोली यस पटक निकै बलियो देखिएको छ। कुल २३ खेल खेलिने यस प्रतियोगितामा बलियो प्रदर्शन गर्दै एसियाली खेलकुदको मुख्य मञ्चमा स्थान बनाउने नेपालको मुख्य लक्ष्य रहेको छ।
