बझाङमा ग्यास आगजनीबाट बच्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न
निर्मला रावल बझाङ, कार्तिक १४ –
शहरदेखि गाउँसम्म अधिकांश घरधुरीमा ग्यासको प्रयोग बढ्दै गएपछि ग्यास आगजनीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यका साथ आज एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्लाको सदरमुकाम चैनपुर बजारको खुला मञ्चमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बझाङको आयोजना र सुरक्षा निकायहरूको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, प्रतिनिधि, व्यवसायी र स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा सशस्त्र प्रहरी बल बझाङका डिएसपी तथा अन्य सशस्त्र प्रहरी जवानहरूले अग्नि नियन्त्रण सम्बन्धी डेमो (प्रदर्शन) प्रस्तुत गरेका थिए। डेमोमार्फत आगलागी भएको अवस्थामा अपनाउनुपर्ने सावधानी र तत्काल नियन्त्रणका उपायहरू प्रदर्शन गरिएको थियो।
कार्यक्रमले ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउने काम गरेको सहभागीहरूले बताएका छन्।