बझाङमा अटाे दुर्घटना, ४जना घाइते
बैतडी : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत पुरानो बसपार्क नजिकै गएराति अटाे दुर्घटना हुदा चारजना घाइते भएका छन्।
राति करिब ८:५० बजेको समयमा चैनपुरबाट झोतातर्फ जाँदै गरेको सुप्र ०१–००१ ह ६२७५ नम्बरको अटो अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा चालकसहित अटाेमा सवार चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनायको छ ।
दुर्घटनामा अटो चालक केदारस्यु गाउँपालिका–९ का २४ वर्षीय विकास गिरी छातिमा चोट लागेर मध्यम घाइते भएका छन्। यस्तै, केदारस्यु १ का २९ वर्षीय दिनेश भण्डारी, केदारस्यु ९ का ३६ वर्षीय दीपक धामी र दुर्गाथली गाउँपालिका३ का ३८ वर्षीय शिवराज कठायतको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका छन्।
दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल बझाङमा उपचारका लागि पठाइएको र अहिले सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।