असार मसान्त नजिकिँदै, सुर्नया गाउँपालिकाको अधिवेशन अझै अनिश्चित—विकासका योजना ठप्प अवस्थामा
बैतडी — आर्थिक वर्ष सकिन अब करिब एक महिना मात्र बाँकी रहँदा पनि सुर्नया गाउँपालिकाले अझै अधिवेशन बसाउन सकेको छैन। समयमै नीति, कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने संवैधानिक जिम्मेवारी हुँदाहुँदै पनि नेतृत्वको ढिलासुस्तीले पालिकाको समग्र विकास प्रक्रिया नै प्रभावित हुने अवस्था देखिएको छ।
स्थानीय तहको प्रमुख कार्य अधिवेशनमार्फत योजना तथा बजेट पारित गर्नु भए पनि सुर्नयामा भने यो प्रक्रिया नै अन्योलमा परेको छ। अधिवेशन नबस्दा चालु आर्थिक वर्षका योजनाहरू अलपत्र पर्ने, नयाँ कार्यक्रम अघि बढ्न नसक्ने र जनताले प्रत्यक्ष रूपमा सेवा तथा विकासबाट वञ्चित हुने खतरा बढेको स्थानीयको गुनासो छ।
समयमै निर्णय लिन नसक्नुले पालिका नेतृत्वप्रति गम्भीर प्रश्न उठेको छ। जिम्मेवार पदमा बसेका जनप्रतिनिधि नै मौन बस्दा सुर्नया गाउँपालिका विकास होइन, अव्यवस्था र गैरजिम्मेवारीको उदाहरण बन्दै गएको आरोप लाग्न थालेको छ।
स्थानीयवासीले अब ढिलाइ नगरी तत्काल अधिवेशन बोलाउन र पारदर्शी ढंगले योजना कार्यान्वयन गर्न माग गरेका छन्। अन्यथा, यसले आउने दिनमा झनै ठूलो आर्थिक र प्रशासनिक संकट निम्त्याउने चेतावनी समेत दिइएको छ।