आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

गौरा एकादशी आज, भदौ १६ देखि सुरु हुँदैछ गौरा पर्व

Manoj Mahara
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
४६४ पटक ० २ मिनेट पढाइ
गौरा एकादशी

बैतडी — सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा एकादशी मनाइँदैछ। श्रावण शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीका दिन गौरा उपासना गर्ने महिलाहरूले व्रत बस्ने परम्परा रहिआएको छ।

गौरा पर्वमा व्रत बस्ने महिलाहरूले गौरा एकादशीको दिनदेखि नै धार्मिक उपासना सुरु गर्ने गर्दछन्। विशेषगरी पहिलोपटक गौरा व्रत बस्ने महिलाले गौरा एकादशीको व्रत अनिवार्य रूपमा बस्नुपर्ने स्थानीय चलन रहेको सुर्नया गाउँपालिका–६ की हरिना अवस्थीले बताइन्।

उनका अनुसार व्रतालु महिलाहरू दिनभर व्रत बसेर साँझ पूजाआजा गर्ने गर्दछन्। गौरा पर्वमा धारण गरिने दुवधागोसँग पनि गौरा एकादशीको धार्मिक परम्परा जोडिएको छ।

स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकका अनुसार गौरा एकादशी र जनैपूर्णिमाअघि दुवधागो धारण गर्ने चलन छैन। त्यसैले भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने पञ्चमी तिथिबाट गौरा पर्व मनाउने परम्परा रहेको उनले बताए।

“गौराको व्रत लिनुअघि गौरा एकादशीको व्रत लिने परम्परा रहिआएको छ,” लेखकले भने।

पण्डित शिवराज भट्टका अनुसार श्रावण शुक्ल एकादशीलाई नै गौरा एकादशीका रूपमा मान्दै व्रत बस्ने गरिन्छ। जनैपूर्णिमापछि गौरा पर्व मनाउने र त्यस क्रममा दुवधागो धारण गर्ने परम्परा रहेको उनले बताए।

सन्तान सुख र पारिवारिक कल्याणका लागि व्रत

गौरा पर्वलाई सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिसँग जोडेर हेर्ने गरिन्छ। त्यसैले पुत्रदा एकादशीलाई गौरा एकादशीका रूपमा मान्ने गरिएको आचार्य लेखक बताउँछन्।

धार्मिक मान्यताअनुसार पुत्रदा एकादशीको व्रत तथा उपासना गरेमा सन्तान प्राप्ति हुने विश्वास छ। यसबारे पुराणहरूमा लोमष ऋषिले देवकी र वासुदेवलाई पुत्रदा एकादशीको महत्व सुनाएको प्रसंगसमेत उल्लेख गरिएको छ।

गौरा पर्वमा पनि महिलाहरूले सन्तान सुख र परिवारको कल्याणको कामना गर्दै व्रत बस्ने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीका रूपमा मनाउने परम्परा रहेको लेखकको भनाइ छ।

भदौ १६ देखि गौरा पर्व

गौरा पर्व सामान्यतया भाद्र शुक्ल वा कृष्ण पक्षको पञ्चमी तिथिबाट सुरु हुने गर्दछ। भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने गरिन्छ।

यस वर्ष गौरा पर्व भाद्र कृष्ण पक्षमा परेको छ। स्थानीय परम्पराअनुसार यस वर्षको गौरा पर्व भदौ १६ गतेदेखि सुरु हुँदैछ।

सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्वमा व्रत, पूजा तथा विभिन्न सांस्कृतिक गतिविधि गरिन्छ। पर्वले यस क्षेत्रको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

Manoj Mahara

मनोज महरा खबर थलीको प्राविधिक मेरुदण्ड र सह-निर्देशक हुनुहुन्छ। उहाँसँग वेब पूर्वाधार, डोमेन सुरक्षा, र सर्भर व्यवस्थापनको विशेष विशेषज्ञता छ। वेबसाइटको सुरक्षित सञ्चालन (Uptime Optimization), सुरक्षा, र आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी न्युज पोर्टललाई प्राविधिक रूपमा सुरक्षित र सबल राख्न उहाँको मुख्य भूमिका रहेको छ।

सबै समाचार (८४)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।