बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते
– बैतडीमा ईभी (हाइस) दुर्घटना हुँदा चालक घाइते भएका छन्।
जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिवार राति९ः४० बजे हाइस दुर्घटनामा परेकाे हाे ।
खाेचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ०६२४ नम्बरको ईभी दुर्घटना चालक दाेगडाकेदार ५ घरभएका २५ वर्षीय मदन ठगुन्ना घाइते भएका छन्।
उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते ठगुन्नालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त ईभी हाइसमा चालक बाहेक अन्य कोही सवार थिएनन्।
दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बाजुरा –बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ बर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भीरबाट लडेर गएराति मृत्यु भएको हो ।
शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जापानको भिसा लाग्यो पियारी’—वैदेशिक पलायनको पीडा बोकेको नयाँ देउडा गीत चर्चामा
बैतडी: नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता, पीडा र मनभित्रको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नयाँ देउडा गीत ‘जापानको भिसा लाग्यो पियारी’ यतिबेला टिकटकदेखि युट्युबसम्म व्यापक रूपमा चर्चामा आएको छ। छोटो समयमै सामाजिक सञ्जालमा भाइरल बनेको यो गीतले हजारौं युवाको मन छोएको छ।
देशभित्र पर्याप्त अवसर नपाउँदा खाडी मुलुकदेखि जापानसम्म पुग्न बाध्य नेपाली युवाहरूको वास्तविक जीवनकथालाई गीतमा समेटिएको छ। “कहिलेसम्म हामी नेपाली युवाले अरूको भूमिमा श्रम बेचेर जीवन चलाउनुपर्ने?” भन्ने गम्भीर प्रश्न गीतले उठाएको छ।
गीतका सर्जक तथा गायक एनडी ठाकुरे (ND Thaqure) ले आफ्नै पाँच वर्षको वैदेशिक बसाइको अनुभव गीतमार्फत व्यक्त गरेका छन्। उनले भावुक हुँदै भने,
“पाँच वर्ष विदेश बस्दा जीवनले धेरै कुरा सिकायो। दुःख, पीडा, थकान—सबै भोगियो। प्रदेशमा हिँड्दा कहिलेकाहीँ आफैँलाई सम्हाल्न पनि गाह्रो हुन्छ। तर मनभित्र कतै न कतै एउटा सानो स्वर भने अझै बाँकी छ—‘धैर्य राख।’”
गीतमा प्रेम, विछोड, सपना र बाध्यताको संगम देखिन्छ। जापानको भिसा हात परेपछि खुसी र पीडाबीच दोधारमा परेको युवाको कथा गीतको मूल भाव हो।
एनडी ठाकुरे र रश्मिका मल्लको अभिनय रहेको यो गीतलाई रमेश ‘बिजुली’ले निर्देशन गरेका हुन्। गीतमा एनडी ठाकुरे र गौरी भट्टको सशक्त स्वर सुन्न सकिन्छ।
गीतका शब्द एनडी ठाकुरेकै हुन् भने संगीत शेरी औजीले भरेका छन्।
देउडा भाकालाई आधुनिक प्रस्तुतिसँग मिसाएर तयार गरिएको यो गीतले परम्परागत लोकशैलीलाई नयाँ पुस्तासँग जोड्न सफल भएको सांगीतिक समीक्षकहरू बताउँछन्। विशेषगरी टिकटकमा बनाइएका भावुक भिडियोहरूले गीतको प्रभाव झनै बढाएको छ।
हाल यो गीत ND Thaqure Music युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जहाँ दर्शकले पूर्ण भिडियो अवलोकन गर्न सक्नेछन्। छोटो समयमै उल्लेख्य भ्युज र सकारात्मक प्रतिक्रिया पाएको गीतले नेपाली युवाको सामूहिक पीडालाई आवाज दिएको प्रतिक्रिया आएका छन्।
‘जापानको भिसा लाग्यो पियारी’ केवल एउटा गीत मात्र नभई, आजको नेपाली समाजको यथार्थ प्रतिबिम्ब बनेको छ—जहाँ सपना आफ्नै देशमा देखिए पनि पूरा गर्न परदेशिनु पर्ने बाध्यता अझै हट्न सकेको छैन।
विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
सुरुमा ब्याटिङ १५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान दिए । उनले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए ।
पूरै २० ओभर खेल्दा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । उसका लागि भण्डारीको अर्धशतकसँगै शेल्डन ज्याक्सन, आरिफ शेखले समान २०–२० रन जोड्दा हरमित सिंहले १४ रन थपे । डा. इशान पाण्डेले १३ रन बनाउँदा मुख्तार अहमदले १० रन जोडे ।
विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुई/दुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एकएक विकेट हात पारे । सुदूरपश्चिमविरुद्ध सन्दीप लामिछाने भने विकेट बिहीन बने ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।
विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उसका लागि मर्चेन्ट डे लाङ्गेले १५ रन बनाउँदा बसिर अहमदले १२ रन थपे ।
विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले दुई/दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक/एक विकेट हात पारे ।
पहिलो क्वालिफायरमा पराजित विराटनगरले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार एलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिच भिड्ने छन् ।
पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो ।
सेती परियोजनाको कार्य अनिश्चित,स्थानियहरुको अवरोध
हरिशचन्द्र भाट बझाङ,
पश्चिम सेती जलविद्दुत परियोजना ८०० मेगावाटको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ।
बझाङको केदार स्यु गाउपालिका को सभाहलमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सेति जलविद्युत् प्रयोजनाले यस छेत्रको विकाश र समृधिमा टेवा पुग्ने अपेक्षा लिएको छ।
पालिकाको सभाहलमा सञ्चालित कार्यक्रममा सेती जलविद्दुत परियोजनाका टोलीका अगुवाले यस छेत्रको बिकाश र जनशक्ती विकाशमा अझ टेवा पुग्ने उनको विश्वास छ।
उक्त कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्षले यस छेत्रमा लागी रहनु भएका ब्यक्तीहरुले यस छेत्रको बिकाशका लागी आफुहरुले पाउनु पर्ने सेवा सुबिधा पाउन उहाले अनुरोध गर्नु भएको छ।
यस्तै कार्यक्रममा बोल्दै गाउपालिका का अध्यक्ष गणेशबहादुर बोहराले यस छेत्रका नागरिकले सेती जलविद्दुत परियोजना को उत्पादन भएमा यहाका नागरिकहरुले उहाहरुले पाउनु पर्ने सेवा सुबिधामा ध्यान दिनु पर्ने जोड दिनु भयो।
पश्चिम सेती जलविद्दुत परियोजनाले यस छेत्रको बिकाश र जनशक्ती निर्माणमा ध्यान दिनु पर्ने र यस ठाउका स्थानियको माग पुरा गर्नु पर्नेमा उहाको भनाई थियो।
कार्यक्रममा स्थानियहरुले यस छेत्रमा आफुहरुले पाएको सुविधा पुर्नबास हुनु पर्ने स्थानियहरुको माग रहेको थियो।
यस्तै स्थानियहरुले आफुहरुले चाहेको माग पुरा नभएमा सेती जलविद्दुत परियोजनालाई अगाडी बढाउन नदिने उनिहरुको माग छ।
आजको कार्यक्रममा स्थानियहरुले आफुहरुको माग पुरा नभएमा आफुहरुले आन्दोलन गर्ने घोषणा गर्नु भएको छ।
उक्त कार्यक्रममा विभिन्न राजनितिक दल का ब्यक्तित्व सेती जलविद्दुत परियोजनाका कार्यकर्ता र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।
आज काग तिहार मनाइँदै
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो ।
हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतवारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिए ।
कागलाई संदेशबाहकका रूपमा लिइन्छ । भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
भोलि दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि भोलि नै परेको हो । त्यस्तै ४ गते मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवम् गोवद्र्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ । कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।
डडेल्धुराको नवदुर्गा–५मा जिप दुर्घटना, ४ जनाको घटनास्थलै मृत्यु
बैतडी: डडेल्धुरामा जिप दुर्घटना हुदा ४ जनाको घटनासथलमै मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेको समयमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइतेहरुलाई डडेल्धुरा अस्पताल बठाइएको घटनास्थलमा रहनु भएका स्थानीय मन्दिर सिंह साउँदले जानकारी दिए । मृतक तथा घाइतेहरुको अहिले नै परिचय खुल्न नसकेको उनले बताए ।जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । जिपमा चालकसहित ९ जना सवार
एसईई उत्तीर्ण बिद्यार्थी लाई लक्ष्मी लघुवित्त द्वारा छात्रवृत्ति प्रदान
पाटन:लक्ष्मी लघुवित्तीय संस्था लिमिटेड शाखा कर्यालय पाटन अन्तर्गत पाटन नगरपालिका वडा नं ६ केन्द्र नम्बर ०१ मा आबद्ध सदस्य नन्दा भट्टको छोरी अनुस्का भट्टले गत माध्यमिक शिक्षा परीक्षा एसईईमा सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोले सस्थाले उच्च शिक्षाको सहयोग स्वरुप छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
शिक्षा क्षेत्रमा देखाएको निरन्तर लगनशीलता परिश्रम र उपलब्धिको सम्मान स्वरूप हामीले उनको आगामी शैक्षिक उन्नतीको लागि प्रशंसापत्र सहित छात्रवृत्ति प्रदान गरेका हौ,लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड पाटन शाखाका शाखा प्रमुख अम्मर राज जोशीले बताउनु भयो । अनुस्का भट्टको पढाइ राम्रो र निरन्तर लगनशीलले गर्दा यो प्रगति भएको बताउदै उहाँले भट्टलाई बधाई सहित उच्च शिक्षाको लागि शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैंकबाट २०६८ फाल्गुन २३ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बित्तिय सहयोगमा सहभागी हुँदै आएको छ ।
साथै प्रमुख अथितिका रुपमा उपस्थित हुनु भएका पाटन नगरपालिका वडा न ६ का वडा अध्यक्ष राजेन्द्र बिष्टले अन्य बर्ष झै यस बर्ष लक्ष्मी लघुवित्त सामाजिक क्षेत्रमा गर्दै आएको आर्थिक सहयोगको प्रसंसा गर्दै बहिनी अनुस्का भट्टको उच्च शिक्षाको लागि शुभकामना व्यक्त गर्दै आफ्नो तर्फ बाट पनि आर्थिक सहयोग थप गर्नु भएको थियो ।
२०६९ जेष्ठ २२ गते नुवाकोटको बटारबाट लघुवित्त कारोबार शुरु गरेको सस्थाले हाल देशका ५६ जिल्लाहरूमा ९० वटा शाखा कार्यालयहरू बिस्तार गरि १ लाख भन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा दिदै आएको छ।
स्थानीय जनप्रतिनिधि, स्थानीय जनसमुदाय र केन्द्रका सदस्य एवं संस्थाका कर्मचारीहरूको रहोबरमा वित्तीय सहयोग उपलब्ध गराइएको हो ।
पाटनमा प्रवेशद्वारमा लगाइयो काणाको झिकडेबार !। एमालेको झिकडे आन्दोलन।
बैतडी –बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले ‘झिकडे बार’लगाएको छ । नगरपालिकामा भएको अनियमितताका विषयमा छानबिनको माग गर्दै विरोध स्वरूप झिकडे कार्यक्रमअन्तर्गत आइतबार नगरपालिकाको कार्यालयमा घङारुको ‘झिकडे बार’ लगाएको हो ।
यसअघि लेखा शाखामा उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा तालाबन्दी गर्दा उठाएका मागहरूमाथि छानबिन गरिनुपर्ने भन्दै ‘झिकडे आन्दोलन’ गरिएको एमालेले जनाएको छ । एमालेले नगरपालिकाको मूल गेट र भित्री गेटमा झिकडाको बार नै लगाएर आन्दोलन गरेको हो ।
नगरपालिकामा भएका भनिएका अनियमितताका विषयमा छानबिन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै विरोधमा उत्रिएको एमाले नगर कमिटी अध्यक्ष धर्मराज भट्टले जानकारी दिए ।
यसअघि पाटन नगर कमिटी अध्यक्ष धर्मराज भट्टको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकबाट विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । आइतबार पाटन नगरपालिकाको कार्यालयको गेटमा घेरबार गर्ने निर्णय गरिएका हो । त्यसैगरी पाटनमा भएको भनिएको अनियमितताका विषयमा छानबिन गर्न सम्बन्धित निकायसँग लगातार दबाब दिने पनि निर्णय गरिएको थियो । बैठकमा सहभागी प्रतिनिधिहरूले पाटनको छानबिन प्रक्रियालाई टुङ्गोमा नपु¥याएसम्म पछि हट्न नहुने बताएका थिए ।
गएको असार २६ गते पाटन नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको थियो । उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा आर्थिक अनियमितता भएको भन्दै लेखा शाखामा तालाबन्दी गरिएको थियो । बिना कागजात भुक्तानी भएको, काम सम्पन्न नभइकनै भुक्तानी दिइएको र अन्य विविध विषयमा अनियमितता भएको भन्दै लेखा शाखामा ताला लगाएका थिए । त्यसै दिन नगर उपप्रमुख गौरी सिंह रावलले तालाबन्दी खोलेर आवश्यक सहजीकरण गरिदिन माग गर्दै जिल्ला समन्वय समिति समक्ष पत्र पठाएका थिए।
त्यसको भोलिपल्ट जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख खगेन्द्र धामी, उपप्रमुख दमन कुँवर, पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा, कार्यकारी नारायण बिष्ट लगायतका प्रतिनिधि सहभागी भएर नगर प्रमुख रावल भारत भ्रमणबाट फर्किए लगत्तै छानबिन समिति बनाउने सहमति गर्दै ताला खोल्ने सहमति भएको थियो ।
पाटन नगरपालिकामा भएको भनिएको अनियमितताका बिषयमा क्रियाशील राजनैतिक दलहरुले छानबिन गर्नुपर्ने माग गरेका थिए । नेकपा एमालेले यो बिषयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । लेखा शाखामा गरिएको तालाबन्दी असार २९ गते खोलिएको थियो । तर ताला खोल्ने समयमा उपप्रमुख अनुपस्थित भएको भन्दै बजार व्यवस्थापन समितिको अगुवाईमा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । उक्त तालाबन्दी अहिलेसम्म खुल्न सकेको छैन् ।
बाजुरामा नेपाल टेलिकमका कर्मचारी सवार जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिएका छन् ।
जिपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार जिप टोलीसहित टेलिकमको टावर मर्मतका लागि सदरमुकामबाट जगन्नाथ गाउँपालिकातर्फ जाँदै गर्दा काँडाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
आज श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै
पाटन । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्यो ।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस। २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।
यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।
बाद,तन्त्रका बिरूद्ध ब्यबस्था फेरियो तर अवस्था फेरिएन
केशव कुँवर : आज गणतन्त्र मनाइरहँदा देशभक्त राष्ट्रप्रेमी न्याय प्रेमी नागरिकले स्मरण गर्नैपर्छ, देशमा राजतन्त्र देखि निरंकुश राणशासन , पंचायती व्यवस्था ,बहुदलीय व्यवस्था हुँदै प्रजातन्त्र र अहिले गणतन्त्रको व्यवस्था मा आईपुग्दा सम्म राष्ट्र ले निकाश पाउन सकेको छैन्। आज फेरि त्यहि राजतन्त्र पुनः स्थापनाका लागि आवाज उठाउने हरूको भिडमा राजावादी र अवसरवादीहरू लागि परेका छन्। कुनै बेला बहुदल चाहियो त कहिले प्रजातन्त्र चाहियो ,फेरि राजा हैन अब गणतन्त्र चाहियो भन्दै गणतन्त्रको पक्षमा एतिहासिक ठुलो आन्दोलन पश्चात गणतन्त्र ल्याइयो। तर आज फेरी तिनै व्यक्तिहरु मध्ये कोहि-कोहि फेरि राजा चाहियो भन्दै राजतन्त्रको समर्थन गर्दै छन् , कोहि ब्यक्तिहरू अबस्था र ब्यबस्था ठिक छैन् भन्दै बर्तमान राजनीति प्रति आक्रोस ब्यक्त गर्दै जनमानसमा बितृष्णा बढेको छ।
देश बनाउन कुनै तन्त्र वा बादले देश समृद्ध र बिकसित हुन बाधक हुन सक्दैन। यदि यसो हो भने चिनमा कम्युनिष्ट छ, अमेरिकामा पुजीवाद छ,भारतमा लोकतान्त्रिक पद्धति छ ,अरबमा राजतन्त्र छ तैपनि त्यहाँ त्यतिकै बिकास उन्नति र प्रगती भएकै छ। त्यहाँ कसरी सम्भव भयो त ? तपाईं हामिले निष्पक्ष भै सोचौँ बिचार गरौँ त? त्यहाँको बिकास र समृद्ध भएको भनेको त्यस देशको नेतृत्वमा दृढ़ ईच्छा शक्ति , राष्ट्र र राष्ट्रियता प्रति ईमानदारिता र दृढ़ संकल्पले गर्दा संभव भएको हो।
हाम्रो देशमा आज सम्म यो तन्त्र त्यो तन्त्र भनेर जनतालाई अल्मलाएर आफू पद र सत्तामा पुग्ने दाउपेच बाहेक केही हुन सकेको छैन। देशको उन्नति र प्रगती त देशका सम्पूर्ण नेता जनता सहित सबैको सामुहिक ईच्छा शक्तिले , आत्म अनुशासन ले ,देश र जनता प्रतीको ईमान्दारीताले हुने कुरा हो ।
नेपालमा एक-दुई छाक मासुभात दुईचार लिटर पेट्रोल , दुई चार हजार पैसाको लागि जुनै पनि पार्टीको झन्डा बोक्न अघि सर्ने र बन्द हडताल गर्न पछि नपर्ने व्यक्तीहरु कदापी सचेत र देश प्रती बफादार जनता हुनै सक्दैन।
दलाल भ्रष्टाचारीहरू नेताहरुले देश र जनताको नारा दिएर आम मानिसमा भ्रम सिर्जना गरि आफ्नो व्यक्तिगत स्वार्थ र ईगो साध्नको लागि मात्र तपाईं हामिलाई प्रयोग गर्न खोजिरहेका छ्न् त्यसैले कसैको इशारामा चल्ने कठ्पुतली नबनौ। यथार्थ सहि गलत बुझेर सहिलाई सहि र गलत लाई गलत भन्न सक्ने बन्नु सक्नु पर्छ, कसैको भड्काउ र उचालेको भरमा हिंस्रक र अराजक गतिविधि गर्नु भनेको झोले बन्नु बाहेक अरू केही पनि होइन।
चिन्ता यत्ति हो,यहाँ हामि कहाँ सच्चा देशभक्त नैतिकवान र इमान्दार मान्छेको कमी छ। हाम्रो देशको यो गति हुनुमा राजा,नेताहरु देखि लिएर आम जनता सबैको दोष बराबर छ।देशको आमूल बिकास र परिवर्तन गर्छु भनेर हिड्नेहरु नै निकम्मा देखिए। देशको बागडोर सम्हालेका हरुले नै आफू र आफ्ना आसेपासेहरूको पक्षपोषणमा लिप्त रहे। पटक पटक यो वाद र त्यो वाद गर्दै तन्त्र फेरे व्यबस्था फेरे तर उनै मध्ये पटक पटक देशको उच्च नेतृत्वको पदमा बसेर र पुगेर पनि देश चलाउने परिपाटी बदल्न सकेनन्। झन-झन एक पछि अर्को गर्दै ठुल्ठुला काण्डहरु गर्दै गए। पदमा पुग्ने जति सबैको रबैया उस्तै रह्यो कसरी अरुलाई पछार्ने र कसरी आफू सधै सर्वशक्तिमान भएर बस्ने भन्ने मा मात्र प्रतिस्पर्धा हुन थाल्यो। व्यक्तिगत र पार्टीगत स्वार्थको दाउपेचमा देशलाई नै दाउमा लागी परेका छन् । राजनैतिक खिचातानी, राष्ट्रिय सम्पत्ति र ढुकुटी को चरम दुरुपयोग अनि भ्रष्टाचारमा लिप्त भै देश र जनतालाई भ्रममा राख्दै गए पद पावर र पैसाको आडमा न्यायलय समेतलाई प्रभावित पार्दै गए। यसैको प्रतिकार स्वरुप जनताले स्वःस्फूर्त रुपमा आज हजारौं युवाहरु, किसानहरू,बिभिन्न पेशागत स्वास्थ्य कर्मी, शिक्षकहरू, ब्यबसायीहरू सडकमा आएर विकल्प खोज्न बाध्य भएका छ्न।
यदि देशको साच्चिकै सर्वांगीण बिकास र उन्नति गर्ने हो भने देश बिकासको निमित्त कुनै पनि किसिमको बाद र व्यबस्था भन्दा पनि पहिले आम जनमानस देखि उच्च-पदर्थ व्यक्तिहरुको व्यबहारमा परिवर्तन हुनु अत्यन्तै जरुरी छ। अन्यथा कुनै वाद र तन्त्रलाई दोष दिएर कोहि व्यक्ति विशेष,पार्टी विशेष र अरु बिदेशी शक्तिलाई दोष दिएर कोहि पनि आफुहरु पानी माथिको ओभानो हुनु पर्दैन।
मेरो बिचारमा सम्पुर्ण नेपालीमा आ-आफ्नो भित्री हृदय देखि नै सबैभन्दा पहिला र सबैभन्दा माथी देश लाई राख्न सक्नु पर्दछ भन्ने नै हो। राष्ट्रिय गान गाउने र फोटो खिचेर स्टाटस् पोष्ट गर्दैमा राष्ट्रवादी हुने हैन राष्ट्रवाद भन्ने कुरा राष्ट्रियता प्रती गर्व गर्न,उत्तरदायी हुनु पर्यो।
समय र परिस्थिति अनुरुप परिमार्जित गर्दै जानू पर्छ। त्यसमा भएको नराम्रो पक्षलाई निरुपण गर्दै सकारात्मक र समयसापेक्ष कुरालाई समेटदै जान्नु पर्दछ। देश मा बिकृती र बिसंगती फैलिएमा वा बढेको खण्डमा यो देश बिग्रनमा अरुको जत्तिकै मेरो पनि दोष छ र बनाउन मा पनि अरुहरुको बराबरी मेरो पनि त्यतिकै हक ,अधिकार र कर्तव्य छ ,भन्ने कर्तव्यबोध हुनुपर्छ । यदि प्रत्येक नेपालीले यस्तो भावना मन,मुटु र हृदयमा राखेर लागि पर्ने हो भने केही समय भित्र नै हाम्रो देश एक समृद्ध र सम्पन्न मुलुक बन्न सक्छ।
केशव कुँवर
संयोजक
महाराष्ट्र राज्य समिति
मातृभूमि जागरण अभियान भारत प्रबास
साँफेबगर नगरपालिका वडा नं ८ सुदुरपश्चिम अछाम जिल्ला
सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए ।
उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’ बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए ।
उनले भने,‘परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समय मै होस् भनेर हरेक अनुरोध आएको छ । आज पनि हामीले हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न भनेका छौं ।’
साढे ५ लाख विद्यार्थीको भविष्य गाँसिएकाले यो परीक्षा सञ्चालन गर्नैपर्नेमा उनको जोड थियो ।
राज्यले युवाहरुमा आशा जगाउन नसक्दा बिदेश पलायनको बर्तमान अबस्था
डडेल्धुरा : देशमा रोजगारीका अबसरहरुको खोजीमा तड्पदै युवाहरु पैसा कमाउने रहरले सपना सजाएर आफ्नो परिवार, गाँउ र प्यारो देशलाई नै छाडेर बिदेशीनु परेको निकै पिडादायी तितो यथार्थता आम नेपाली युवाहरुको बाध्यता हो। देशमा केहि गर्छु, देशमै बसेर आफ्नो जीवन चलाउछु भन्ने रहर र चाहना हुँदा हुँदै देशमा कुनै बिकल्प नदेखे पछि युवाहरु मानसिक दबाबमा बैदेशिक रोजगारी मा लाखौं खर्च गरेर पलायन हुनेको संख्या दिनहुँ बढ्दै छ। हाम्रो जस्तो विकासोन्मुख देशका सक्षम युवा विकसित देशको सुख, सुविधा देखेर हजारौं युवाहरु शिक्षाका लागि होस् या रोजगारीका लागि उतै आकर्षित भइरहेका बर्तमान अवस्था छ। तर बिडम्बना “युवा पलायन मात्र नभएर पुजी र सक्रिय दक्ष जनशक्ति पलायन भएको हो भनेर भन्ने कुरा राज्यले बुझ्न किन नचाहेको होला या बुझ पचाएको हो” गम्भीर प्रश्न छ? युवाशक्ति एउटा त्यस्तो शक्ति हो जसले एउटा परिवार , सामाज अनि सिङगो देशकै मुहार नै फेर्न सक्ने सामार्थ राख्दछन्। तर हाम्रो देशमा रहेका लाखौ युवाहरुलाई नत उचित अबसर प्राप्त हुन सकेको छ नत देश नै समृद्धीको दिशामा जान सकेको छ। केबल अदुरदर्शीता र सत्ता केन्द्रीत राजनितीको खिचातानी बाट आम नागरिकहरू पिडीत छन्।
देशको यस्तो अबस्था हुनुमा राज्यको अदुरदर्शीता र युवाहरुप्रतीको गैर जिम्मेवारीपन नै मुख्य कारण हो। देशमा लोकतन्त्र , समृद्धी र परीबर्तनका नाममा थुर्पै आन्दोलन भए। तर बिडम्बना आज देशमा गणतन्त्र आएता पनि देश गरिबी र बेरोजगारी बाट मुक्त हुन सकेको छैन। दलहरु सरकार ढाल्ने र बनाउने खेलमै लिप्त छन्।
देशमा बेरोजगारीको यस्तो बिकराल स्थिति आउदा पनि राज्य मौन बसेको छ । न त राज्यले रोजगारीका अबसर नै सृजना गर्न सकेको छ नत युवाहरुको बिकास र सुरक्षीत भबिष्यको निम्ति स्पष्ट निती र योजना बनाउन सकेको छ।
देशबाट पलायन भईरहेको जनशक्ति लाई रोक्न कसैको चासो देखिएको छैन। गाउँघर युवा बिहीन भएका छन्। काम गर्ने नहुँदा खेतियोग्य जमिन बाँझै भएका छन् । गाउँघरमा महिला, केटाकेटी र बृद्ध मात्र हुँदा दाहासंस्कार मा समेत समस्या हुने पिडादाई अबस्था रहेको छ।
बिडम्बना अभिभाबकको रुपमा रहेको राज्यले युवाहरुको भबिष्य र अबसरको निम्ति कुनै चासो दिएको देखिदैन खाली भाषणहरुमा मात्र सिमित छन् दिन प्रतिदिन युवाहरु पलायन हुन थाले समस्या भो भन्दै भ्रमित मिठा अभिब्यक्ति बाहेक केही गर्न नसक्नु यो भन्दा दुर्भाग्य राज्यको लाचारीपन नै हो।
तसर्थ मेरो बिचारमा यदि राज्यले युवाहरुले हासिल गरेको अनुभव र शिप लिएर अन्ततह यहि मुलुकमा खर्चन चाहाने युवा शक्तिलाई प्रोत्साहन गर्नु पर्छ सिप र पुँजिलाई उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै उनिहरुको लगानीको सुरक्षाको जिम्मा लिँदै राज्यले पहिलो अभाव बाट बिदेशीएका लाई तत्काल रोक्न नसक्ला तर योजना बनाउने हो भने दबाब र प्रभाव बाट बिदेशीएका युवाहरु मध्ये केही % युवा पलायन बाट रोक्न सकिन्छ।
मातृभूमि जागरण अभियान भारत प्रबास
महाराष्ट्र राज्य संयोजक
केशव कुँवर घर अछाम साँफेबगर नगरपालिका वडा नं ८
शिक्षा मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गर्न लागेको ७ बुँदे प्रस्ताव महासंघद्वारा अस्वीकार
वैशाख, २ गते/ काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लैजान लागेको प्रस्ताव अस्विकार गर्ने भएको छ। महासंघकी सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिकी अध्यक्ष नानुमाया पराजुलीले शिक्षकको हित बिपरित भन्दै मन्त्रालयले प्रस्तुत गरेका ७ बुँदे प्रस्ताव अस्विकार गर्ने बताएकी हुन्।
सह-संयोजक पराजुलीले भनुन्, मन्त्रालयले प्रस्तुत गरेका ७ बुँदे प्रस्ताव ‘रेडिमेट’ मात्रै हुन, र ती मागअनुकुल छैनन्। बालविकास शिक्षकको तलबमा मात्र ३०० रुपैयाँ थप्ने जस्ता प्रस्ताव अपमानजनक भएको महासंघको भनाइ छ।
विगतको सहमति अनुसार ईसीडी, राहत, उमावि, करार, प्राविधिक धार, ग्रेड समायोजन, तहगत बढुवा, निजी विद्यालयका शिक्षक-कर्मचारीको सेवा सुविधामा समानता लगायत विषयहरू समेटिनुपर्ने माग गरिएको छ।
मन्त्रालयले आन्दोलन रोक्न दबाब दिँदै वार्ताको प्रस्ताव गरे पनि महासंघले त्यसलाई अस्वीकार गर्दै तीन प्रमुख नेता (ओली, देउवा, प्रचण्ड) र सभामुखको पहलमा मात्रै वार्तामा बस्ने स्पष्ट पारेको छ। आन्दोलन धेरै अगाडि बढेको छ । अब सबै शिक्षक कर्मचारी काठमाडौं आउनु हुन्छ,’ महासंघकी सहअध्यक्ष पराजुलीले बताएकी छन् ।
भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा कायम गर्ने सरकारको निर्णय
धनगढी । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
१३ वटा निर्णय भएकोमा डडेल्धुराको भागेश्वर गाउँपालिकाले केन्द्र टप्वा कायम गर्ने पनि उल्लेख छ । बगरकोटमा रहेको केन्द्र परिवर्तन गरि टप्वा कायम गर्ने तथा राजपत्रमा प्रकाशित गर्ने निर्णयमा उल्लेख छ ।
यसअघि भागेश्वर गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले टप्वालाई केन्द्र तोक्ने पक्षमा मतदान गरेका थिए । बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा मुकाम तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो ।
तर, ०८० माघमा बसेको कार्यपालिका बैठकमा भएको मतदानले टप्वा केन्द्र तोक्ने निर्णय गरेको थियो ।
अछाममा कक्षा०८ अनुत्तीर्ण भएको भन्दै एक छात्राले गरिन आत्महत्या
बैतडी:अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीकी १६ वर्षीया छात्रा अस्मिता भुलले आत्महत्या गरेकी छन्। नवज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अस्मिताले रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रहरीका अनुसार कक्षा ८ को नतिजा अनुत्तीर्ण भएको खबर पाएलगत्तै अस्मिता सोमबार साँझ घरबाट बेपत्ता भएकी थिइन्। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आत्महत्या गर्नुअघि एउटा सुसाइड नोट पनि लेखेको भेटिएकाे छ ।
मंगलबार बिहान घर नजिकैको रूखमा अस्मिता झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जनाएको छ।
यस दुःखद घटनाले गाउँमा शोक छाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
शिक्षा मन्त्रालयले फेरि बोलायो आन्दोलनरत शिक्षकहरूलाई वार्तामा
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई फेरि वार्तामा बोलाएको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्। यसअघि मन्त्रालयले यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षक कर्मचारीका प्रतिनिधिहरूलाई वार्तामा बोलाएको थियो।
‘भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ। साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाहअनुसार तय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० प्रतिनिधिसभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत माघ २० गतेदेखि सुरु भएको आन्दोल एकहप्तादेखि काठमाडौँमा जारी छ।
उक्त विधेयक पारित गरेर शिक्षा ऐन जारी गर्नु नै एक सूत्रीय माग भएकोले वार्तामा बस्नुको कुनै औचित्य नभएको महासंघले बताएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘वार्ताको कुनै आवश्यकता र औचित्य छैन। विगतमा सरकार र महासंघबीच भएका सहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्छ। हामीसँग बस्ने समय पनि ऐन निर्माणमै खर्चनुहोस्।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार एक सार्वजनिक कार्यक्रममार्फत शिक्षकहरूलाई वार्ताको आह्वान गरेका थिए। प्रधानमन्त्रीको भनाइ थियो, ‘सडकमा गएर सुत्नु पर्दैन। दुःख पाउन पर्दैन। आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं।’

चैते दसैंका अवसरमा काटेको खसीको मासु अड्किएर अछामका एक युवकको मृत्यु
बैतडी :अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका(५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए।
घटनाको थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली खटाइएको छ
उदयदेव प्रिमियर लिग २: हिमचुलीकाे शानदार सुरूआत
बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे छ।
आज सम्पन्न पहिलाे खेलमा हिमचुलीले बनारसी युवा क्लबलाई ६ विकेटले हरायाे।
जितका लागि पाएकाे १२१ रनकाे लक्ष्य हिमचुलीले १३.४ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्याे ।
जसमा कल्पेस चन्दले अर्धशतकीय पारी खेल्दै ५७ रनकाे अविजित पारी खेले।
बनारसीका निरज ऐेरले २ विकेट लिए।
यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे बनारसीले १२० रनमा समेटियाे।
उसका पारस महतले सर्वाधिक २७ रन जाेडे।
हिमचुलीका कल्पेस चन्दले ३ र मनाेज महराले २ विकेट लिए।कल्पेस प्लेयर अफ द म्याच चुनिए ।
पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टाेलीको सहभागीता रहेकाे छ।
जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ८ मिनेटमा गएको हो।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो। यसको धक्का जाजरकोटसहित आसपासका जिल्लाहरूमा पनि स्पष्ट रूपमा महसुस गरिएको थियो।
यसअघि, बिहीबार अपराह्न दार्चुला जिल्लाको अपी हिमाल आसपास केन्द्रबिन्दु भएको भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.० म्याग्निच्युड मापन गरिएको थियो।
त्यस्तै, चैत १३ गते हुम्लाको कालिका क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।
उदयदेव प्रिमियर लिग 2 तयारी पूर्ण रुपमा भइसकेको छ
दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को तयारी पुरा भएको छ । पाटन भ्यालि क्रिकेट क्लब पाटन बैतडीको आयोजनामा शुक्रबारदेखी सञ्चालन हुने दोश्रो संस्करणको युपिएलको तयारी पुरा भएको हो । श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने टि २० क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको जोशीले जानकारी दिनुभयो । ८ ओटा टोलीलाई चार पोलमा विभाजन गरिएको छ । प्रत्येक पोलमा २/२ टिमलाई राखीएको छ । प्रतियोगिताको उद्घाटनमा पाटन ११ र सिगास सेवा समाजबिच खेल हुनेछ । चैत २२ गते शुक्रबारदेखी सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल चैत २८ गते हुनेछ । जनाउने टिमले यो संस्करणमा प्रथम हुने टिमले १ लाख११ हजार १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए । यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बैतडीः कार्यवाहक नगरप्रमुखको जिम्मेवारी बिष्टलाई पाटन नगरपालिकामा
बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो ।
नगरप्रमुख एक महिनादेखी नगरपालिका बाहीर रहेको र उप्रमुख पनि काम बिशेषले बाहिर जानेभएपछि आइतबारदेखी बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।
प्रमुख तथा उपप्रमुख नगरपालिकामा नफर्किनुजेल सम्म वडाअध्यक्ष बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
प्रमुख प्रशासकिय अधिकृतको नपुग्दै सरुवा पाटन नगरपालिकाकामा
बैतडी, ८ चैत / बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलको सरुवा भएको छ । कार्यालयमा हाजिर हुन नपाउदै पौडेलको गृहमन्त्रालयमा सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सूचीमा पौडेललाई पाटनबाट गृहमन्त्रालयमा सरुवा गरिएको उल्लेख छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएपछि नगरपालिकाको हाकिमका रुपमा पौडेललाई पठाईएको थियो ।
तर पौडेल कार्यालयमा उपस्थित हुन नपाउदै उनको पनि सरुवा भएको हो । यो संगै बैतडीका पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएका छन् ।
उदयदेव प्रीमियर लिग-२ आउदो चैत्र २२ गतेदेखि
बैतडीको पाटनमा हुन गइरहेको दोश्रो सस्करणको उदयदेव प्रीमियर लिग आउदो चैत्र २२ गतेदेखि हुने भएको छ ।
आयोजक पाटन क्रीकेट क्लबले समाजिक सन्जाल फेकबुकबाट सो जानकारी गराएको हो ।
क्लबको निर्णय अनुसार चैत्र २२ गतेदेखी सुरु हुने क्लबका अध्यक्ष सन्तोष जोशीले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने टिमले चैत्र २० गते साझ ५ बजेसम्मको समय तोकिएको छ ।
दर्ता शुल्क १३,५०० रुपैया तोकिएको छ । यो संस्करणमा प्रथम हुने टिमले १ लाख११ हजार १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए । यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


























