बैतडी : बैतडीको राजनीतिमा लामो समयदेखि परिचित नाम हुन् हरिमोहन भण्डारी। पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भण्डारी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् ।
वि.स. २०२३ साल कात्तिक १५ गते जन्मिएका भण्डारीले स्नातक तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन्। उनका बुवा लक्ष्मण सिंह भण्डारी र आमा रत्ना भण्डारी हुन् । बुवाको प्रेरणाले राजनीतिमा प्रवेश गरेको बताउने भण्डारीको राजनीतिक यात्रा वि.स. २०३५ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुरु भएको हो।
पञ्चायतकालमै राजनीतिमा सक्रिय रहेका भण्डारी वि.स. २०५८ सालमा नेपाली प्रजातान्त्रिक कांग्रेसको क्रियाशील सदस्य बने । त्यसपछि उनी तीन पटक पार्टीको महासमिति सदस्यसमेत बनेर संगठन निर्माणमा सक्रिय रहे । करिब २३ वर्ष नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका भण्डारी पार्टीभित्र एक अनुभवी र निरन्तर लागिरहने नेताका रूपमा चिनिन्थे ।
तर यसअघि चुनावी राजनीतिमा उनको यात्रा सहज भने रहेन । वि.स. २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा उनी पराजित भए । त्यसपछि वि.स. २०७९ सालमा कांग्रेसबाट टिकट पाएनन् । त्यसपछि उनले कांग्रेस परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका भण्डारीले ११ हजार १८ मत ल्याए पनि जित हासिल गर्न सकेनन् ।
हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई प्रतिनिधिसभा सदस्यका विजयी हासिल गरेका छन् । लामो राजनीतिक अनुभव, विभिन्न धारको राजनीति भोगेको पृष्ठभूमि र स्वतन्त्र राजनीतिप्रतिको आकर्षण बोकेका भण्डारी यसपटक नयाँ दलमार्फत संसद् प्रवेश गरेका छन् ।
चुनावी दौरान धेरै युवाहरुको साथ पाइरहने भण्डारीले यस पटक पनि युवा तथा जनमासको राम्रो साथ पाएका छन् । सुरुवात देखि नै जनमास पाएर अन्तिमसम्म कायम राखेर संसदीय यात्रा तय गरेका छन् ।
जिल्लामा बलियो संगठन र दबदबा रहेको दावी गरेका एमाले, कांग्रेस र नेकपालाई टक्कर दिएर भण्डारीले सानदार विजयी हासिल गरेका छन् ।






