बैतडी जिल्लाको पाटन -४ मा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी पाटन नगरपालिकाका एक पुरुषको ज्यान गएको छ। दुर्घटनामा पाटन नगरपालिका–६, सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार, बिष्ट बिहीबार दिउँसो करिब ४ बजे सिउडे जाने भन्दै घरबाट निस्किएका थिए। राति अबेरसम्म घर नफर्किएपछि घरपरिवारले खोजीका लागि प्रहरीमा खबर गरेका थिए।

खोजी गर्ने क्रममा शुक्रबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ को अन्नाडी मोडबाट करिब एक सय मिटर तल खसेको अवस्थामा बिष्टको शव फेला परेको थियो। प्रहरी निरीक्षक बडूका अनुसार, बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुसन्धानले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखाएको छ।मृतक बिष्टको शवलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पोष्टमार्टमका लागि राखिएको छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Manoj Mahara

Leave a Reply